भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमशीलता विकास समितिको संयोजनमा सम्पन्न भएको उद्योग व्यवसायमा महिलाको भूमिका विषयक प्रवचन गोष्ठीका वक्ताहरुले महिलालाई घरको चौघेराबाट बाहिर आउन आह्वान गर्नुभयो । उहाँहरुले महिलालाई एउटा गतिलो लक्ष्य लिएर अघि बढ्न समेत सुझाव दिनुभयो ।स्वागत मन्तव्य व्यक्त गर्दै भक्तपुर उद्योग वणिज्य संघका कार्यवाहक अध्यक्ष शिवप्रसाद मानन्धरले पुरुष प्रधान समाज भएता पनि महिलाहरु गृहिणी भएर घर परिवारको व्यवस्थापनमै व्यस्त रहनुपर्ने वास्तविकतालाई चिर्दै बदलिँदो परिबेशमा शिक्षा दिक्षा, तालिम र जागरणका कारण महिलाहरु उद्योग व्यवसायमा अग्रसर हुँदै आएको बताउनुभयो । कार्यक्रमका वक्ताहरु उद्योग वाणिज्य क्षेत्रमा समर्पित तथा उदाहरणीय व्यक्तित्वहरु भएको कारण उहाँहरुको मेहनत, परिश्रम र सफलताको कथाबाट हामीले धेरै सिक्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निबर्तमान अध्यक्ष भवानी राणाले उद्योग वाणिज्य संघको नेतृत्वदायी भूमिकामा व्यस्त व्यवसायीका श्रीमतीले उहाँहरुको उद्योग व्यवसाय सञ्चालन गर्दै आएको सुनाउनुभयो । उद्योग वाणिज्य संघमा अध्यक्ष भएपछि विभिन्न सभासमारोह र कार्यक्रममा सहभागी हुँदै व्यस्त हुने भएकोले उहाँहरूको उद्योगका सम्पूर्ण कार्य श्रीमतीहरुले नै सम्हाल्दै आएको भनाई राख्नुभयो । ‘नत्र आफ्नो उद्योग व्यवसाय धारासायी हुन्छ’, श्री राणाले थप्नुभयो, ‘अहिले महिलाहरू आफ्नो घर र व्यवसायको व्यवस्थापन गरी दोहोरो भूमिका निर्वाह गर्दै आइरहेका छन् ।’
सरकारले महिला उद्यमी प्रवद्र्धन गर्न ४ प्रतिशत व्याजदरमा ऋण सुविधा प्रदान गरिरहेको स्मरण गराउँदै उहाँले उक्त मौकाको सदुपयोग गर्न सम्पूर्ण महिलाहरूलाई पे्ररित पनि गर्नु भयो । महिलाहरुले आफ्नो जीवनमा कुनै न कुनै लक्ष्य लिएर अगाडि बढ्नुपर्दछ र आफ्नो लक्ष्यलाई पूर्णता दिन संघर्ष गर्नैपर्छ, तथा आफूले लिएको लक्ष्यलाई पूरा गर्न सकारात्क सोच सहित अगाडि बढ्नुपर्छ अन्तत्वगत्वा लक्ष्य पूरा हुन्छ र आत्मसन्तुष्टी पाउनुका साथै आर्थिक रुपमा समृद्ध पनि भइन्छ भन्नु भयो । महिला भएकेै कारण सामाजिक, सांस्कृतिक एवं शारीरिक रुपमा चुनौतीहरु खडा हुने र यसकै आधारमा क्षमता र दक्षतामा प्रश्न उठने गरेको वास्तविकता पनि उजागर गर्नु भयो ।
कार्यक्रममा नेपाल सौन्दर्यकला व्यवसायी महासंघका अध्यक्ष कमला श्रेष्ठले महिलाले कुनै पनि व्यवसाय गर्नको लागि इच्छा शक्तिका साथै आफूसँग बलियो आत्मबल जुटाउनु पर्ने बताउनु भयो । उद्योग व्यवसाय गर्दा निरन्तरता दिनु अति आवश्यक भएको भन्दै उहाँले साना तिना समस्या आउँदैमा हतोत्साही भएर व्यवसाय बीचैमा छोड्न नहुने स्पष्ट पार्नु भयो । सफल हुन अवसरको खोजी गर्न र प्राप्त अवसरको अधिकतम सदुपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले अगाडी भन्नु भयो ‘उद्योग वाणिज्य संघ भनेको उद्यमी तथा व्यवसायीहरूको लागि ठुलो सम्भावना बोकेको मञ्च हो जसको राम्रोसँग सदुपयोग हुन सके आफूलाई मात्र नभई देशलाई नै फाइदा पुग्दछ ।’
कार्यक्रमका अर्का बक्ता नायिका रेखा थापाले महिलाहरुलाई पनि पुरुष सरह अगाडि बढ्न आह्वान गर्दै उहाँले महिलाले जबसम्म डरलाई बिसाएर मुक्ति खोज्दैनन्, पुरुषको सफलतामा तालीमात्र बजाएर बस्नु पर्ने हुन्छ र यसले महिलालाई कहिल्यै सफल नबनाउने बताउनु भयो । सबैले महिलालाई महिला बन्न मात्र तालिम दिने तर कसैलै मान्छे बन्ने तालिम नदिने भएकाले सहभागीलाई मान्छे बन्न आग्रह गर्नुभयो । आफूसँग भएको प्रतिभालाई प्रस्फुटन नगरी लुकाई राख्नाले महिलाहरू पछि परिरहेको नायिका थापाको भनाइ थियो ।
स्थानिय महिला व्यवसायीको प्रतिनिधित्व गर्दै गोष्ठिमा आफ्नो विचार राख्नुहुँदै महिला उद्यमी श्री लक्ष्मी अवालले आफुले जानेको सिलाई बुनाईबाट आफ्नो व्यवसाय सुरुवात गरेको र निरन्तर अघि बढ्ने चाहानाले नै आजको स्थान प्राप्त भएको कुरा सुनाउनु भयो । महिलाहरु आर्थिकरुपमा सक्षम हुन सानै वा थोरै लगानीबाट भए पनि व्यवसाय सुरु गर्न जोड दिनुभयो । कुनै समस्या भए संघबाट सहयोग प्राप्त हुनेमा पनि विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री रामप्रसाद प्रजापति, महासचिब श्री रोशनी मैया धौबञ्जा, महिला उद्यमशीलता विकास समितिकी संयोजक श्री श्रीया बल्ल लगायतले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।