काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको शुभारम्भमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए पछि ओलीको यस्तो भनाइ आएको हो । । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् ।
केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्याएका छौँ । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौँ ओलीले भने । उनले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाअनुसार देशको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबीसमेत गरे ।