ताप्लेजुङ-ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो ।
मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताउनुभयो । “अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ । “साँझ बिहान पानी परिहेको छ । बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ”, उहाँले भन्नुभयो ।
फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताउनुभयो । “ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन् । फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ ।
हेवाखोलामा कहिले बन्छ बेलीब्रिज ?
पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो । जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ ।
पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन ।