सिरहाको ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गर्यो — OSNepal

सिरहाको ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गर्यो

LC (KTM) July 19, 2021 0

सिरहा- सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो ।

रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व सङ्कलन भएको छ ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख साहले बताउनुभयो । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिनुभयो ।

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७÷०७८ मा रु. ४३ करोड ७८ लाख १५८ राजस्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।

सङ्कलन भएको राजस्वमध्ये रु एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र रु ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर