काठमाडौं, १९ असार । गुलशन झाको अर्धशतककीय पारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन जोडेको हो ।
नेपालका लागि गुलशनले ४२ बलको सामना गरी ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय खेलमा उनको यो दोस्रो अर्धशतक हो ।
ओपनिङमा आएका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहितकुमार पौडेलले २९ र भीम सार्कीले २० रन बनाए ।
आठौं विकेट लागि गुलशन र सन्दीपले ८० रनको साझेदारी गरे भने त्यसअघि पाँचौं विकेटका लागि कुशल मल्ल र भीमले ५९ रनको तथा तेस्रो विकेटका लागि अर्जुन र रोहितले ५० रनको साझेदारी गरे ।
आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अडेयर, क्रेग योङ्गले २/२ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले १/१ विकेट लिए ।