काठमाण्डौ -प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षका सांसदहरुले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ ।ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका छन् भने माधव नेपाल समूहका १४ जनाले देउवालाई विश्वासको मत दिएका हुन् ।
पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् । पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिए । एमालेको हिजोको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने सांसदहरु पार्टीमा नरहने निर्णय गरेपनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् ।
एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए । यसले एमालेभित्रको सङ्कट झनै चुलिएको हो । यद्यपी पार्टी एकताको पहल नरोकिने एमाले नेता गोकर्ण विष्टले बताए । यसअघि एमालेका नेताहरुले १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।