बैतडी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा — OSNepal

बैतडी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

LC (KTM) June 22, 2023 0

बैतडी-बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाइसकेका छन् ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ । सोह्रदेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो ।

प्रत्येक स्थानीय तहका तीन÷तीन वडामा घुरधुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकोले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विसं २०७२ असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने गरिएको छ । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षता र पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा बैतडीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर