ढोरपाटन-बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएको थियो । स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो ।
सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ । उहाँको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको थापाले बताउनुभयो । “उहाँलाई यही सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण छैन, लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ”, प्रमुख थापाले भन्नुभयो, “यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठयौँ ।”