ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र हुँदा स्थानीयवासीमा खुशीयाली — OSNepal

ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र हुँदा स्थानीयवासीमा खुशीयाली

LC (KTM) July 17, 2021 0

दमौली, २ साउन – ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्र्याक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताउनुभयो । “त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग ग¥यौँ । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो”, उहाँले भन्नुभयो ।

तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुँडा हुँदै शान्तिनगर–स्याउली बजार झरेर भिमाद जाने सडक ट्र्याक खोलिएको थियो । केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको थियो । ट्र्याक फेरिएपछि स्थानीयवासीको चासो नहुँदा सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङले बताउनुभयो । गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिनुभयो । रु ४० लाख ६० हजार ३४७ को लागतमा सडक कालोपत्र गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले रु १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराउनुभएको थियो । स्थानीयवासीले रु १८ लाख १० हजार ३४७ लागत साझेदारी गरेका छन् । वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।
ट्र्याक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर टुँडाको प्रवेशद्वार खैरेनीटार साना शहरी खानेपानी आयोजनाको ट्याङ्कीबाट झण्डै ५०० मिटर सडकको अवस्था भने बिजोग छ । यो खण्ड पनि कालोपत्र गर्न स्थानीयवासीको माग छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर