काठमाडौँ-पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन, नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य अवस्था तथा उनीहरुका लागि सम्बन्धित मुलुकको विद्यमान कानुनी व्यवस्थाबारे सचेतना गराउन जरुरी रहेको बताउनुभयो । गन्तव्य मुलुकको कार्यप्रकृति, स्वास्थ्यमा देखापर्ने समस्या र समाधानका उपायका बारेमा अवगत हुनुपर्ने भएकाले रोजगारपूर्व श्रमिकलाई अभिमुखीकरण तालिम खाँचो पर्ने उहाँको भनाइ थियो ।
पत्रकार सुनिल न्यौपानेले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नेपालमा भइरहेका व्यवस्था, त्यहाँ गर्नुपर्ने काम, रणनीतिक योजनालगायत विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा पुगेका श्रमिकमा देखापर्नसक्ने मानसिक अवस्थाको जाँच गराउनुपर्ने, सुरक्षित आप्रवासीसम्बन्धी कार्यविधि ठाउँअनुसार फरक–फरक हुनुपर्ने, स्वदेश फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी व्यवस्था मिलाउनु पर्नेलगायत विषयमा छलफल भएको थियो ।