काठमाडौं – परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले भने ।
परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।
तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजकसमेत हुन् ।
यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर ९जंगब० चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् । यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला झापास्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् । यो समाचारकान्तिपुर दैनिकमा छ ।
यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।