पर्वत- स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजाराँै युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गर्नुभएको छ । २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गर्नुभएका उहाँको फर्ममा यतिबेला २२ उन्नत गाई छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।
विज्ञान विषयमा स्नातक गरेका उहाँले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन सुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार–व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उहाँले पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किनुभएको हो । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो ।
गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उहाँले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उहाँ गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बन्नुभयो । सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत बेच्न थाल्नुभएका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउने र बिहान–बेलुका गाईको स्याहारसुसार गर्न थाल्नुभयो । उहाँ आफँै दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न थाल्नुभयो । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे ।
लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन सङ्घर्ष गर्नु परेको उहाँले बताउनुभयो । नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उहाँले बताउनुभयो ।
तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार–व्यवसाय गर्ला भन्ने सोच राखेकी उहाँकी वृद्ध आमाको आँेठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल हुनुभएको छ ।
उहाँको फर्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाइरहेका छन् । दूध बिक्रीबाटै खर्च कटाएर मासिक रु दुई लाख बचत गर्ने गरेको तिमिल्सिनाले बताउनुभयो । “अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु”, तिमिल्सिनाले भन्नुभयो, “मासिक रुपमा खर्च कटाएर रु दुई लाखभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।” यहाँ दूध डेरीमा प्रतिलिटर रु ८० मा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर रु एक सयमा बिक्री हुने गर्दछ ।
तिमिल्सिनाले दूधसँगै घीउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आउनुभएको छ । उहाँको फर्मबाट अग्र्यानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उहाँले वार्षिक झन्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताउनुभयो ।
व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भन्नुभयो, “गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।” तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन् । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफैँ गर्ने गरेको बताउनुभयो । केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन् । उहाँले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाउनुभएको छ । घाँसको बिक्रीबाट पनि उहाँ वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले आफ्नो फर्ममा प्रविधिको पनि प्रयोग गर्न थाल्नुभएको छ । उहाँ आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आउनुभएको छ । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उहाँको अनुभव छ । “पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ । पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । “घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ”, उहाँले भन्नुभयो ।