आइपीएलको सर्वाधिक सफल टोली मुम्बई ईन्डियन्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा उक्लिएको छ । चेन्नाईको घरेलु मैदान एमए चितम्बरममा मुम्बई चेन्नईसंग ६ विकेटले पराजित भएको हो । मुम्बईले दिएको १ सय ४० रनको लक्ष्य चेन्नाईले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईको जितमा ओपनर डेभोन कन्वेले ४२ बलमा ४ चौकाको सहयोगमा ४५ रन बनाए ।
अर्का ओपनर ऋतुराज गायकवाडले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।अजिक्या रहाणेले १७ बलमा २० तथा शिभम दुवेले १८ बलमा ३ छक्काको सहयोगमा अविजित २६ रन बनाए । मुम्बईका लागि पीयुष चावलाले २ तथा आकाश मधवाल र ट्रिस्टन स्टुब्सले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
मुम्बईका लागि निहाल वाधिराले ५१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । चेन्नाईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहर र तुसारदेश पान्डेले समान २र२ विकेट लिए ।