स्याङ्जा-स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यहाँका बासिन्दामा स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिँदासमेत गल्याङ बजार तथा पाल्पाको हुँगी जानुपर्ने बाध्यतामा रहेको स्थानीय नरेन्द्रप्रसाद अर्यालले बताउनुभयो । “वडा नं ९ को साङ्लियामा रहेको स्वास्थ्य चौकीमा जान हामीलाई अपायक थियो”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा स्वास्थ्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै निक्कै सहज भएको छ ।”
स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न स्थानीय यमनारायण अर्यालले एक रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । “स्वास्थ्यसम्बन्धी सामान्य जाँच गर्न, सिटामोल खान टाढा जानुपर्दा गाउँलेलाई सास्ती भएको थियो”, जग्गादाता अर्यालले भन्नुभयो, “गाउँमै स्वास्थ्य केन्द्र स्थापना गर्न सके टाढा जानुपर्ने बाध्यता पनि हट्ने र गाउँमै स्वास्थ्योपचार गर्न पाइए सहज हुने ठानेर निःशुल्क जग्गा प्रदान गरेको हुँ ।”
जग्गा प्राप्त भएसँगै गतवर्ष जेठमा सम्झौता भई भवन निर्माण थालिएको वडा नं ९ का वडाध्यक्ष नामदेव खनालले बताउनुभयो । “यहाँका नागरिक स्वास्थ्यको आधारभूत पहुँचभन्दा बाहिर रहेको महसुस गरी गतवर्ष निर्वाचित भएसँगै पहिलो प्राथमिकतामा राखेर काम थालेका थियौँ”, उहाँले भन्नुभयो ।
भवन निर्माण सुरु भएको आठ महिनामै सम्पन्न भइ वैशाख १० गतेबाट स्वास्थ्य सेवा दिन सुरु गरेको उहाँको भनाइ छ । चार कोठे पक्की भवन रु ३४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माण सकिएकाले अब बाहिरी घेराबारको काम बाँकी रहेकाले त्यसलाई पूरा गर्ने गरी काम अगाडि बढेको वडाध्यक्ष खनालले बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रमा अहेब र अनमी एक÷एकजनाको दरबन्दी छ ।