इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । मुम्बईले लगातार तेस्रो जित निकालेको छ ।
घरेलु मैदान राजिब गान्धी स्टेडियममा सनराईजर्स हैदराबाद मुम्बईसँग १४ रनले पराजित भएको हो । मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ७८ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि ओपनर मंयक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन बनाउँदा कप्तान एडेन माकरमले १७ बलमा २२ रन बनाए । मुम्बईका लागि जेसन बेहरानड्राफ्ट,राईली मेरीडेथ र पियुष चावलाले समान २-२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
मुम्बईका लागि क्यामरोन ग्रिनले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले ।ओपनर ईशान किशनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाउँदा तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए । हैदराबादका लागि मार्को यानसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए ।