सिन्धुपाल्चोक । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।
मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा ।
असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको तीन हजार पाँच सय रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।
‘चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पु९यो, लहलह हुन थालेको धान खेत ढुङ्गा र बालुवाले पुरेको छ’, आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टङ्कप्रसाद दुलालले सुस्केरा हाल्दै भन्नुभयो । उहाँले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गर्नुभयो ।
आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उहाँले सुनाउनुभयो ।
असार १ मा आएको बाढीले पसाइसकेको धानसहित उहाँको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो । ‘एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुङ्गामुनि होला भनेर कसले पो सोचेको थियो हो र रु’ दुलालले भन्नुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उहाँले बताउनुभयो । ‘यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छौँ’, रिजालले भन्नुभयो ।
व्यावसायिक रूपमा भैँसीपालनसमेत गर्ने रिजाललाई यो वर्ष भैँसीलाई खुवाउने परालको जोहो कसरी गर्ने होला भनेर चिन्ता समेत थपिएको छ ।