मुक्का प्रहारको बिषयलाई लिएर जर्मन क्लब बायर्न म्युनिखले फरवार्ड साडियो मानेलाई निलम्बित गर्ने निर्णय गरेको छ । टिमका अर्का सदस्य लोरी सानेलाई मुक्का हानेको समाचार बाहिरिए संगै बायर्नले मानेलाई निलम्बन गर्ने निर्णय गरेको हो । बायर्नले मानेलाई निलम्बन गर्दै शनिबार होफेनहाइमविरुद्धको खेलमा टिम बाहिर राखेको छ ।
मंगलबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा मानेले सानेको अनुहारमा प्रहार गरेको जर्मन अखबारले खबर बाहिर ल्याएको थियो । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नलाई सिटीले ३-० ले हराएको थियो । बायर्नले सेनेगल फरवार्ड मानेलाई दुर्व्यवहारको कारण टिम बाहिर गरिएको र उसलाई जरिवाना पनि लगाइने पुष्टि गरेको छ ।