इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले पहिलो जित हात निकालेको छ । मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले ।
तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रनको ईनिङ खेले । कप्तान रोहित र तिलकले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे । इसान किसनले २६ बलमा ३१ रन बनाए ।दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो ।
दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले। अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । छैटौं विकेटका लागि कप्तान वार्नर र पटेलले ६७ रनको साझेदारी गरे । पछिल्लो १० बलमा दिल्लीले ५ विकेट गुमाएको थियो । मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३-३ विकेट लिए । रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए ।