काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुरले आज प्रधानमन्त्रीको सपथ लिँदैछन् । आज शपथ लिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् ।सर्वोच्चको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् ।
देउवा आज प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । उनले तोकिएको समयावधी भित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गर्न पाउनेछन् ।
स्रोतका अनुसार उनले आजै आफ्नो सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् । देउवाले आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य थालेका छन् ।
यसअघि देउवा २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म पहिलो पटक प्धानमन्त्री बनेका थिए । त्यस्तै २०५८ साउन देखि २०५९ असोज १८ सम्म दोस्रो पटक, ०६१ साल जेठ २१ मा तेस्रो पटक, २०७४ साल जेठ २३ मा चौथो पटक प्रधानमन्त्री बनिसकेका देउवा अनुभवी ब्यक्ति हुन् ।