काठमाडौँ २८ असार । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । आज संसद विघटनको मुद्धमा फैसला गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले गरेको फैसला अनुरुप देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।
फैसला सुनाउँदै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने,’एकमतले निर्णय भएको छ, मागबमोजिम आदेश जारी गरको छौँ,’ । फैसलाको पुर्णपाठको लागि भने एक हप्ताका लागि समय लिइएको न्यायाधीश ईश्वर खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन । यससँगै विपक्षी गठबन्ध पक्षका १४६ सांसदहरुले सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गरेका थिए ।