जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले पाथीभरा नाम राखिएको किंबदन्ती — OSNepal

जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले पाथीभरा नाम राखिएको किंबदन्ती

LC (KTM) March 24, 2023 0

ताप्लेजुङ। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्। यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन्। वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन।

भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहेका इन्द्रनारायण भट्टराईले बताए। भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ।

प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हुँदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो। पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ। सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ। तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।

प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ। देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्की बताउँछन्।

पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ। जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ। पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो। भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ।

देवीको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ। परापूर्वकालमा एउटा भेडी गोठ थियो। भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए। भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पुर्‍याए। त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन।

पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे। भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन्। साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे। उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन्। दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते।

राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन्। सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन्। ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे।

त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले। महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ।

पाथीभराको प्रसङ्ग किराँत समुदायको धर्म ग्रन्थ (मुन्धुम) मा समेत जोडिएको छ। किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात् ढुङ्गा हो। मुकुम्लुङलाई युमा माङका रुपमा पुज्छन्।

किराँत समुदायले यूमा माङलाई प्रमुख इष्टदेवको रुपमा लिने गर्दछन्। किरात धर्मअनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुमा बेलाबेलामा प्रकट हुने हुन्छ। यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्दलाई समेत मान्ने गरिएको छ। पाथीभरामा फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिकसमेत राखिएको छ।

बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गरेका छन्। पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने गरिएको छ। पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ। दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन। परेवा उडाएर, फूल, अक्षता चढाई धूप बालेर पनि पूजा गर्ने गरिएको छ। पछिल्लो समयमा पूजाआजाका लागि फूल अक्षता लिएर जानेक्रम बढेको पाइन्छ।

पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ। कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन्।

पाथीभरा दर्शनका लागि देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व बेलाबेलामा पाथीभराको दर्शनका लागि जाने गर्दछन्। सडक यातायात नहुँदा मानिस हिँडेरै पुग्दथे। सदरमुकाम फुङ्लिङबाट हिँडेर पुग्नै एक दिन लाग्थ्यो पाथीभराको यात्रामा निस्किएपछि हरेक खोलानाला तर्नुअघि खोलाको पूजा गर्दै जाने गरिन्थ्यो। तीर्थयात्रीले आफ्ना लागि खानेकुरा, भाँडाकुँडा र ओछ्याउने लत्ताकपडा आफैँ बोकेर जान्थे भने गोठ ओढारमा बस्ने गर्थे। बाक्लो बस्ती नभएकाले र देउरालीदेखि मन्दिरसम्म घना जङ्गल भएकाले समूहमा जाने गरिन्थ्यो।

अहिले पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सवारीसाधन पुग्छन्। पाथीभरा क्षेत्रमा नै तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङ्लिङमै पनि फर्किएर बस्न सकिन्छ। पाथीभराको लोकप्रियता, यसको महिमा र गरिमा चुलिँदै गएकाले पूर्वका विभिन्न ठाउँमा पाथीभराका शाखा मन्दिर स्थापित छन्।

तेह्रथुमको हरिसे, बसन्तपुर, टुटे देउराली, सङ्खुवासभाको चौकी बजार, झापाको चारआली, इलामको कुटिडाँडा र ताप्लेजुङकै विभिन्न गाउँमा समेत मन्दिर निर्माण गरी पूजाआजा गर्ने गरिएको छ। ठूलो पाथीभरा पुग्न नसके तिनै मन्दिरबाट समेत भाकल बुझाउने गरिन्छ।

धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ। विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ। फुङ्लिङ बजार, सुकेटार देउराली हुँदै तल्लो फेदीसम्म सवारीसाधनमा गई सकेपछि माथि मन्दिरसम्म नै पैदल हिँड्नु पर्छ। फटाफट हिँड्न सक्ने तीन घन्टाको अवधिमा मन्दिर पुग्छन्। पैदलमार्गको स्तरोन्नति गरिएकाले र डाँडैडाँडा रमित हेर्दै पाथीभराको उकालो चढ्नुको मज्जा छुट्टै छ। पाथीभरा मन्दिरमा जान आउनका लागि काठमाडौँबाट सिधै सुकेटार विमानस्थलसम्म हवाई सेवा लिन सकिन्छ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने भएकाले कसैकसैलाई लेक लाग्ने समस्या हुने गर्छ। प्राकृतिक सुन्दरतासँग रमाउँदै पाथीभरा मन्दिर रहेको डाँडामा पुग्दा कञ्चनजङ्घा हिमशङ्खलाले स्वागत गर्न आइपुग्छ। पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु लगाएका हिमाल आँखै अघि छर्लङ्ग देखिन्छन्। एकातिर पाथीभरा दवीको दर्शन पनि हुने र अर्कातिर प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गर्न समेत पाइने भएकाले पर्यटन प्रवद्र्धनमा पाथीभराको महत्व अझ बढिरहेको पर्यटन व्यवसायी हर्क गुरुङले बताए।

कतिपय तीर्थयात्री ताप्लेजुङको तोङ्वा र सुकुटीको स्वाद लिँदै यहाँ उत्पादित चौँरी, गाईको छुर्पि, विभिन्न जडीबुटी, अलैँचीलगाएतका बस्तु चिनोको रुपमा लिएर घर फर्किन्छन्। सुकेटार र फुङलिङ बजारका होटलहरुमा तोङ्वा सुकुटीको स्वाद चाख्न पाइन्छ।

“सदरमुकामै रहेका कोशेली घरहरुमा छुर्पी, जडीबुटी, अलैँचीलगायतका सामग्री पाइन्छन्। मन्दिरको दर्शन गरेर फर्किनेहरुले ताप्लेजुङको चिनोका रुपमा लैजाने गर्छन”, पाथीभरा कोशेली घर सञ्चालक विष्णु श्रेष्ठ बताउँछन्। यहाँका कोशेलीघर, होटल तथा पसलमा स्थानीय उत्पादनहरु प्रशस्त राखिएको हुन्छ। पाथीभराले जिल्लाको धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर