कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठानको सहयोग — OSNepal

कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठानको सहयोग

LC (KTM) July 12, 2021 0

मङ्गलबारे, २८ असार- कोरोना सङ्क्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ । आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले रु २५ हजार प्रदान गर्नुभएको हो ।

सञ्चार प्रतिष्ठानले कोभिड सङ्क्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताउनुभयो । उहाँले नेपाल पत्रकार महासङ्घ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्लाका सङ्क्रमित पत्रकारलाई सहयोग गरिरहेको बताउनुभयो । अक्सिजनमा बस्नु परेमा रु २५ हजार र भेन्टिलेटरमा बस्नु परे रु ५० हजार नगद उपचारस्वरुप हस्तान्तरण गरिनेसमेत उहाँको भनाइ थियो ।

सञ्चार प्रतिष्ठानले जिल्लामा रहेका क्रियाशील पत्रकार र प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रमुखसँग सञ्चार क्षेत्रको समस्याका विषयमा छलफलसमेत गरेको छ । पत्रकारको तर्फबाट महासङ्घ इलाम अध्यक्ष विप्लव भट्टराईले पत्रकारको समस्या कागजीभन्दा पनि व्यावहारिकरुपमा अघि बढाउन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले कतिपय समस्या प्रतिष्ठानले र कतिपय महासङ्घ आफैँले समाधान गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट इलाममा १८ पत्रकार सङ्क्रमित भएको र हाल अझै चार पत्रकार सक्रिय सङ्क्रमित रहेको महासङ्घ इलाम शाखाका सचिव भीम चापागाईंले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर