काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डकले फिल्ममा पुनरागमन गरेकी छन् । उनले भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’मा अभिनय गरेकी छन् । फिल्ममा निकिताको शीर्ष भुमिका रहेको छ ।फिल्मको एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । मंगलबार यो फिल्मको छायांकन कोटेश्वरको जडिबुटी क्षेत्रमा भइरहेको थियो ।
फिल्ममा नेपालबाट निकितासहित ‘कबड्डी’ र ‘छक्कापञ्जा’ फेम्ड लुनिभा तुलाधर, प्रकाश घिमिरे लगायत छन् । बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् ।
पूर्वमिस नेपाल समेत रहेकी निकिताले यसअघि २०७७ सालमा विराज भट्टको फिल्म ‘साङ्लो’मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् ।नेपालमा शान्ता नेपाली प्रोडक्सनले लाइन(प्रोड्युसिङ गरिरहेको छ । यो फिल्म यस वर्ष नेपालमा छायांकन हुने दोस्रो ठूलो अन्तर्राष्ट्रिय फिल्म हो । यसैवर्ष बलिउडको ‘उचाइ’ समेत नेपालमा छायांकन भएको थियो ।