ढुङ्गा फुटाएपछि पृथ्वी राजमार्ग दुई तर्फी सुचारु — OSNepal

ढुङ्गा फुटाएपछि पृथ्वी राजमार्ग दुई तर्फी सुचारु

LC (KTM) July 11, 2021 0

दमौली, २७ असार – शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गाको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आज साँझ ५ः४० मा सफा गरिएको हो ।

ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “अब राजमार्गमा कुनै अवरोध छैन”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो । यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौँ सवारीसाधन बेलाबेलामा रोकिन पुगेका थिए ।

डाइभर्सनबाट यातायात सञ्चालन-तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखालामा डाइभर्सन निर्माण गरिएपछि सवारी वारपार शुरु भएको छ । पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट यातायात सञ्चालनमा आएको हो ।

व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत आज सवारी साधन सञ्चालन भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिनुभयो । “तत्कालका लागि अस्थायी रुपमा भने पनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ”, उहाँले भन्नुभयो । बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर