प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लगी भुटान र लाओसको टोली भोलि नेपाल आईपुग्ने भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फा ले भुटान र लाओसको टिम सोमबार नेपाल आईपुग्ने जनाएको छ । एन्फाको अनुसार भुटानी टोली बिहान ७:५५ बजे र लाओसको टोली बिहान ११:२५ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।
प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।