काठमाडौं । पछिल्लो समय निकै व्यस्त रहेका अभिनेता हुन् विपिन कार्की । विपिन कार्की अभिनित ‘फूलबारी’ एक महिनाभन्दा बढी समयदेखि हलमा चलिरहेको छ भने ‘प्रसाद २’ चैत २४ गतेको रिलिज तयारीमा छ ।
चैत ४ गतेदेखि उनको शीर्ष भूमिका रहेको फिल्म ‘भष्मे डन’को छायांकन सुरु हुँदैछ भने वैशाखदेखि ‘चलचित्र’ छायांकनको तयारीमा रहेका बेला विपिनले भने यी काम सकिएसँगै केही समय आराम गर्ने भन्दै नयाँ प्रोजेक्टलाई पछि सारिरहेका छन् । उनले आराम गर्न भन्दै पाँच महिना फिल्मबाट टाढा हुने कुरा छ ।
केही समय अघि बलिउड फिल्म एनिमलमा काम गर्ने चर्चासँगै उनी पटक पटक बलीउड फिल्म खेल्ने आशाले मुम्बई गए तर निर्माण यूनिटले वेवास्ता गरेसँगै उनी आँफैले फिल्ममा नजोडिने निधो गरेर नेपालमा साइन गरेका फिल्महरुलाई समय दिन थाले ।
यसैबिच व्यस्त अभिनेता विपिनले फिल्म चल्नका लागि स्टार कलाकारको स्टारडमभन्दा स्क्रिप्ट नै बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन् । स्क्रिप्ट नै कमजोर छ भने अभिनयले मात्र केही नहुने उनको तर्क छ ।
रिलिजपूर्व निकै हल्ला गरिएको अनमोल केसी स्टारर ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रहेपछि प्रतिक्रिया दिँदै विपिनले भनेका छन् स्क्रिप्ट नै छेउटुप्पो मिलेको छैन भने स्टारले अभिनय गरेर मात्र फिल्मले सफलता नपाउने उनको तर्क छ । विपिनले अभिनय गरेका फिल्म पशुपति प्रसाद, प्रसाद, जात्रा , जात्रै जात्रा, फुलबारी, लगायतका फिल्महरुले राम्रो सफलता पाएका छन् ।