स्तरोन्नतिको काम सकेर सेनाले बुझायो करिडोर — OSNepal

स्तरोन्नतिको काम सकेर सेनाले बुझायो करिडोर

LC (KTM) July 10, 2021 0

बलेवा, २६ असार – दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४।५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताउनुभयो ।

बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ ।

यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयर नवराज बाँस्तोलालाई हस्तान्तरण गर्नुभयो । रिडी­मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको थियो ।

एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो । बागलुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आव २०७४÷७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिको लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताउनुभयो ।

यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव ९डिपीआर० तयार गरिने आयोजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । ‘‘तीन महिनामा डिपीआर हुन्छ, बाँकी तीन महिनामा आइई गरेर सक्छौं’’, देवकोटाले भन्नुभयो, ‘‘कलोपत्रेको लागि योजना माग गरेर फाइल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’’ एक करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा डिपीआर र आइईको लागि विनियोजन भएको देवकोटाले जानकारी दिनुभयो ।

प्रमुख देवकोटाले ३० महिनामा यो सडक कालोपत्रे गरेर सकिने दाबी गर्नुभयो । ‘‘काम गर्न क्रियाशीलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’’, देवकोटाले भन्नुभयो, ‘‘हामी समयमा काम गर्न निरन्तर लाग्छौं ।’’ सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम शुरु हुनेमा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेबारी समेत लिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर