नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघले आज भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
एन्फाको आज बसेको कार्यसमिति बैठकले भिन्सेन्जोलाई नियुक्ति गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले भिन्सेन्जोलाई सिफारिस गरेको थियो । मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।
३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए । उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।