केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रले ५-३ गोल अन्तरले उपाधी आफ्नो हातमा पार्न सफल भयो ।
खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे । सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे ।
तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।