गत वर्ष फेब्रुएरी २४ मा भ्लादिमिर पुटिनले युक्रेनमा दुई लाख सैनिक पठाउँदा उनलाई केही दिनमै रुसी सेना किएभभित्र छिर्ने र त्यहाँको सत्ता ढाल्न सकिने गलत अनुमान गरेका थिए।
एक वर्षको अवधिमा रुस कैयौँ पटक पछि हट्नुपर्ने लाजमर्दो अवस्था उत्पन्न भयो। त्यसले उनको युक्रेनमा अतिक्रमण गर्ने प्रारम्भिक योजना विफल भएको देखिन्छ। तर रुसले लडाइँ हारिसकेको भने छैन।
पुटिनको वास्तविक लक्ष्य के थियो?
अहिले पनि रुसी नेताहरू दोस्रो विश्वयुद्ध सकिएपछी भएको सबैभन्दा ठूलो आक्रमणलाई ‘विशेष सैन्य कारबाही’ का रूपमा व्याख्या गरिरहेका छन्।
पूर्ण स्तरको युद्ध नभनिएको भए पनि युक्रेनभरि गैरसैनिक क्षेत्रहरूमा पनि हमला गरिएको सो कारबाहीमा आफ्नै देशभित्र विस्थापित गरिएका वा बाहिर शरण लिन बाध्य पारिएका मानिसको सङ्ख्या करिब एक करोड ३० लाख छ।
सन् २०२२ को फेब्रुएरी २४ मा युक्रेनलाई ‘असैनिकीकरण र नाजीमुक्त” गर्नु आफ्नो उद्देश्य रहेको उनले बताएका थिए। रुससमर्थित समूहहरूले सन् २०१४ यता कब्जा गरेका पूर्वी युक्रेनी भूभागको स्वतन्त्रतालाई समर्थन गर्ने निर्णय गरिएको केही दिनपछि पुटिनले बल प्रयोग गरेर युक्रेन कब्जा गर्ने आफ्नो लक्ष्य नरहेको बताएका थिए।
उनले मानिसहरूलाई आठ वर्षदेखिको युक्रेनी अत्याचार र नरसंहारबाट जोगाउने प्रतिबद्धता व्यक्त पनि गरेका थिए। रुसले गरेको त्यस्तो प्रचारको कुनै वास्तविक आधार भने छैन।उनले युक्रेनमा नेटोको उपस्थिति रोक्ने उल्लेख गर्दै अर्को उद्देश्य युक्रेनको तटस्थ हैसियत कायम राख्नु भएको बताए।
राष्ट्रपति पुटिनले कहिल्यै पनि सार्वजनिक रूपमा नबोलेको भए पनि उनको एउटा प्रमुख प्राथमिकता युक्रेनका निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गर्नु थियो।
“शत्रुले मलाई पहिलो निसाना र मेरो परिवारलाई दोस्रो निसाना बनाएको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए। उनका सल्लाहकारका अनुसार रुसी सैनिकहरूले राष्ट्रपति निवास परिसरमा हमला गर्ने प्रयास दुई पटक गरेका थिए।
नाजीहरूले युद्धअपराध गरेको भन्ने रुसी दाबी कहिल्यै पनि प्रमाणित भएन। तर रुसी सरकारी सञ्चार संस्थाले ‘गैरनाजीकरण अन्ततः गैरयुक्रेनीकरण” भएको उल्लेख गर्यो। त्यसको अर्थ उक्त कदमको व्यावहारिक अर्थ आधुनिक युक्रेन राज्यको अस्तित्व मेटाउनु हुन जान्छ।
वर्षौँसम्म रुसी राष्ट्रपतिले युक्रेनको स्वतन्त्र हैसियत अस्वीकार गर्दै आएका छन्। सन् २०२१ मा एउटा लामो लेख लेख्दै उनले नवौँ शताब्दीयता ‘रुसी र युक्रेनीहरू एकै मानिस’ भएको बताएका थिए।
पुटिनले कसरी लक्ष्य फेरे?
आक्रमणको एक महिनापछि किएभ र चेर्निभबाट पछि हट्नुपर्ने अवस्था आएसँगै उनको अभियानको लक्ष्य नाटकीय रूपमा बदलियो।
त्यसपछिको मुख्य उद्देश्य ‘डोन्बासको स्वतन्त्रता’ बन्न पुग्यो। त्यो क्षेत्रमा लुहान्स्क पूर्वको र डोनेट्स्कस्थित दुई प्रमुख औद्योगिक क्षेत्रहरू पर्छन्।
उत्तरपूर्वको खार्किभ र दक्षिणको खेअर्सनमा पनि पछि हट्न बाध्य भएको भए रुसको लक्ष्य बदलिएको छैन। तर ऊ आफ्नो लक्ष्यसम्म पुग्न सकेको छैन।
पुटिनले हात पारेको उपलब्धि के हो?
राष्ट्रपति पुटिनले आफूले हात पारेको सबैभन्दा ठूलो उपलब्धिका रूपमा दाबी गर्न सक्ने भनेको रुसको सीमादेखि क्राइमियासम्म जमिनमा पुल निर्माण गर्नु हो।
क्राइमियालाई सन् २०१४ मा रुसमा गाभिएको थियो। त्यही भएर केर्स स्ट्रेटमाथि बनेको पुलमा अब मस्को निर्भर छैन।
उनले मारिऊपोल र मेलिटोपोल अवस्थित उक्त भूभाग कब्जा गरिएको घटना ‘रुसका लागि महत्त्वपूर्ण’ परिणाम भएको बताए।
केर्च स्ट्रेटमा अवस्थित आजोभ सागर ‘रुसको आन्तरिक समुद्र बन्न’ पुगेको भन्दै पुटिनले रुसी शासक पिटर द ग्रेटले समेत त्यस्तो गर्न नसकेको टिप्पणी गरेका थिए।