नेपालले घरेलु मैदानमा जारी रहेको आईसीसी विश्वकप लिग टू को खेलमा भोली मंगलबार स्कटल्याण्डसंग प्रतिष्पर्धा गर्दैछ । विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेल बाकीँ रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफि पाउने छ ।
शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ । यदी सो खेल जितेमा नेपालले धेरै नयाँ कीर्तिमान बनाउने छ । नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ ।
मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । मंगलबारको खेल जितेमा विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।