पर्वत-महाशिवरात्रिका अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफालगायत शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
गुप्तेश्वर गुफाभित्रको शिवलिङ्गको दर्शन एवं पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । उक्त गुफामा पार्वतीले महादेवलाई पतिका रुपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास छ । पार्वती पर्वतकै पाङ्गमा जन्मिनुभएको र गुफामा व्रत बस्ने तथा उहाँले कालीगण्डकीमा स्नान गरेको विश्वास गरिन्छ । एक किलोमिटर लामो उक्त गुफामा देवीदेवताका दर्जनौँ आकृति छन् ।
त्यस्तै, सदरमुकाम कुस्मा नजिकै कटुवाचौपारीस्थित अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे र सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिला, ठूलीपोखरीको बाटुलेचौरलगायत शिवालयमा आज मेला लागेको छ । पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा पनि मेला लागेको छ । यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङको गौरीधाम मन्दिर तथा ग्रामीण क्षेत्रका अन्य शिवमन्दिमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।