नयाँदिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ । गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमाउनुभएको छ ।
प्रधानमन्त्रीको भारतीय जनता पार्टी र मोदीको राजनीतिक विरोधीहरूले अडानीको तीव्र उदयलाई उक्साउन प्रधानमन्त्रीको हात रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अरबपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउनेगरेका छन् ।
मोदीले अडानी समूहमाथिको सम्बन्धबारे संसदमा केही नबोलेपनि आफुमाथि लागेका आरोपहरूबारे भारतीय जनताले बुझेको बताउनुभयो । उहाँले सरकारले निष्ठाका साथ काम गरेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनतालाई थाहा छ कि सङ्कटको समयमा मोदी उनीहरूको सहयोगका लागि आएका छन्, उनीहरू तपाईंको गाली र आरोपसँग कसरी सहमत हुनेछन्? “लाखौं मानिसहरूको विश्वास मेरो सुरक्षा कवच हो । यसलाई तपाईंको दुब्र्यवहार र आरोपले तोड्न सकिंदैन ।
विपक्षी भारतीय काङ्ग्रेसका नेता गान्धीले हालै मोदीसँग अडानीको घनिष्ठ सम्बन्धका कारण ‘उहाँको व्यवसायको व्यापक विकास र विस्तार’ भएको बताउनुभएको थियो ।
‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भन्दै उहाँले ‘निर्लज्ज स्टक हेरफेर र लेखा धोखाधडी योजना’मार्फत् व्यापकरूपमा आर्थिक लाभ लिने गरेको आरोप हिन्डेनबर्गले अडानीलाई लगाएको थियो । अडानीले आफ्नो एकाईको शेयर मूल्यमा कृत्रिम रुपमा वृद्धि गरेको र ‘अफशोर ट्याक्स हेभन’मार्फत स्टकमा पैसा जम्मा गरेको इन्भेस्टमेन्ट ग्रुपले जनाएको छ ।