आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन — OSNepal

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन

LC (KTM) February 06, 2023 0

जुम्ला-आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९÷०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेमनारायण रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने उहाँले उल्लेख गर्नुभयो । गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनुलगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ ।

चालु आवको छ महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार तीन जिल्लामा कूल ३० हजार दुई सय ८४ जना करदाता रहेका छन् । सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयमा पाँचजनाको अधिकृतस्तरको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायब सुब्बाको दरबन्दी रहेको कार्यालयमा अहिले दुई जना मात्र रहेकाले स्थानीयस्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्न लागिपरेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर