पहिराले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध — OSNepal

पहिराले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

LC (KTM) July 07, 2021 0

गलेश्वर, २३ असार- अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ । स्मरणीय छ गए राति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।​(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर