उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिएकी पूर्वजनमुक्ति सेना गुमाको प्रवासीको सहयोगपछि उपचार — OSNepal

उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिएकी पूर्वजनमुक्ति सेना गुमाको प्रवासीको सहयोगपछि उपचार

LC (KTM) July 07, 2021 0

गलकोट-उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिनुभएकी गलकोट नगरपालिका–७ मल्मकी ३० वर्षीया गुमा परियारका लागि प्रवासी नेपाली सहारा बनेका छन् । अर्थाभावमा उपचारबाट बञ्चित उहाँका लागि विदेशबाट सहयोग जुटेको हो । तत्कालीन माओवादी सशत्र द्धन्दताका जनमुक्ति सेनामासमेत काम गर्नुभएकी परियार नशासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ ।

तीन साताअघि राससले ‘उपचार नपाएर तड्पिँदै पूर्वलडाकु’ शीर्षकमा समाचार दिएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा परियारको स्वास्थ्य स्थितिबारे विवरण सार्वजनिक भएपछि उपचारका लागि स्वतःस्फूर्तरुपमा आर्थिक सहयोग जुटेको हो ।

वडा कार्यालय, स्थानीय घुम्टे युवा परिवारलगायतका सङ्घसंस्था र व्यक्तिले आर्थिक जोहोसँगै परियारलाई उपचारका लागि अस्पताल पु¥याउन पहल लिएका थिए । जापानमा रहेको घुम्टे युवा परिवारको शाखा कार्यालयमार्फत सङ्कलित रु तीन लाख १५ हजार परियारको उपचारका लागि पठाइएको शाखा अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले जानकारी दिनुभयो ।

साउदी अरबमा रहनुभएका सन्तोष थापा र स्पेनमा कार्यरत कमल थापाको पहलमासमेत परियारको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइएको छ । परियार काडमाडौँको वीर अस्पताल र न्युरो अस्पतालमा उपचार गराएर केही दिनअघि घर फर्कनुभएको छ ।

परियारका श्रीमान् जुने मल्लले एक महिनापछि पुनःपरीक्षणका लागि चिकित्सकले बोलाएको बताउनुभयो । यसअघि सिटीस्क्यान र एमआरइ गर्दा टाउकाको नशा सुकेको पाइएको उहाँको भनाइ छ ।मल्लका अनुसार दुई वर्षअघि बुटवलको क्रिमसन अस्पतालमा परीक्षण गराउँदा त्यहाँका चिकित्सकले परियारलाई ‘ब्रेन ट्युमर’ भएको बताएका थिए । अहिले परीक्षण गर्दा भने ट्युमर नदेखिएको बरु मस्तिष्कको नशा सुकेको जनाइएको छ ।

नशासम्बन्धी रोगका कारण परियारमा पक्षघातको जटिल समस्या छ । शरीरको दाँहिने भाग चल्दैन । खाना खान र शौचालय जान पनि अरुकै सहारा चाहिन्छ । दिनदिनै रोगले गाल्दै लगेको छ । बोली मधुरो र अस्पष्ट हुँदै गएको छ ।

बिरामी परेर हल न चल भएपछि परिवार र श्रीमानको बेवास्तामा पर्नुभएकी परियार वर्ष दिनदेखि माइतीमा बस्दै आउनुभएको थियो । दुई छोरीकी आमा उहाँकाबारेमा खबर बाहिर आएपछि गाउँका भद्रभलाद्मी बसेर श्रीमान् जुनेसँग छलफल गरेका थिए । उपचारका लागि आर्थिक सहयोग जुट्न थालेपछि मल्ल पनि श्रीमतीलाई उपचारका लागि काठमाडौँ लिएर जान तयार हुनुभएको थियो ।घुम्टे युवा परिवारको केन्द्रीय कार्यालयले परियारको उपचारका लागि सञ्चालित आर्थिक अभियानमा समन्वयको काम गरिरहेको अध्यक्ष थम्मन थापाले बताउनुभयो ।

लामो समयदेखि रोगले थलिनुभएकी परियारको बेलैमा उपचार र पुनःस्थापना हुन नसक्दा धेरैले चिन्ता व्यक्त गरेका थिए । कुनैबेला मुलुकको परिवर्तनका खातिर सङ्घर्षमा होमिनुभएकी परियारको बिग्रँदो स्वास्थ्यस्थितिप्रति बेखबर बनेकामा सत्ताको नेतृत्व र सम्बन्धित दलप्रति पनि गुनासो बढेको थियो । गत जेठ अन्तिमतिर परियारले आफ्नै फेसबुकमार्फत बिरामी शरीरको फोटो र सहयोगको याचनासहित पोष्टसमेत सार्वजनिक गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर