बलिउड जगतका लागि एकपछि अर्काे दुख थपिएको छ । भारतीय चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका दिग्गज कलाकार दिलिप कुमारको आज बिहान ९८ बर्षको उमेरमा निधन भएको हो । उनी पछिल्लो लामो समयदेखि बिमारी थिए । स्वास्थ्यमा समस्या आए पछि पछिल्लो एक महिनामा दिलीप कुमारलाई दुई पटक अस्पतालमा भर्ना गरिएको थियो ।
दिलीप कुमारको पार्थिव शरीरलाई बिभिन्न ब्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको निधनको खबरले बलिउड पुरा शोकमा डुबेको छ । बलिउडका अन्य कलाकारहरुले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, विभिन्न राज्यहरुका मुख्यमन्त्रीहरुले पनि दिलीप कुमारको निधनमा शोक व्यक्त गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको पार्थीव शरिरलाई मुम्बईको जुहू कब्रिस्तानमा अन्त्येष्टि गरिने जनाइएको छ । दिलीप कुमारको निधनसंगै हिन्दी सिनेमाको एउटा युगको अन्त्य भएको छ ।
यसअघि दिलीप कुमारलाई मुम्बईको खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । दिलीप कुमारको स्वास्थ्य अवस्थाका बारेमा दुई दिनअघि मात्रै उनकै ट्वीटर हेण्डलबाट अपडेट गरिएको थियो । उनको स्वास्थ्यमा सुधार भईरहेकोले केही दिन अघि मात्र आईसीयु बाट निकालिएको थियो । मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मनु भएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । आफ्नो ५० बर्षको फिल्मी करियरमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको चर्चित सिनेमाहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर लगायत रहेका छन् ।