अमेरिकामा निर्मित घर आउ लघु चलचित्र विभिन्न देशका चलचित्र महोत्सवमा छनौट — OSNepal

अमेरिकामा निर्मित घर आउ लघु चलचित्र विभिन्न देशका चलचित्र महोत्सवमा छनौट

LC (KTM) July 07, 2021 0

कम होम,अर्थात् घर आउ। यो पुकार गर्छिन् एक आमा। आमाको भूमिका निर्वाह गरेकी छिन् उमादेवी विश्वकर्माले। आमा नेपालमा,छोरा अमेरिकामा। छोराको भूमिका निर्वाह गरेका छन् सौरमराज तुलाधरले। घर आउ फिल्ममा आमा र छोराको भिडियो कल सँगै कथा अगाडि बढ्छ। कथालाई एक वाक्यमा भन्न सकिन्छ– कोभिडको व्यथा।

कोभिडले विश्व आक्रान्त बनेको बेला नेपालमा आमाको चिन्ताको कुनै सीमा हुँदैन,छोराले सुरक्षित छु भन्दै आमालाई आश्वस्त बनाउँछ। छोरालाई पनि चिन्ता छ– कतै नेपालमा आमा र परिवारलाई पनि कोभिड संक्रमण हुने त होइन ? घरघरको चिन्ता,घरघरको कथा अनि घरघरको यस्तो व्यथालाई सर्लक्कै फिल्ममा उतारेकी छिन् किर्तना बान्सकोटा ।

छोराछोरी विदेशमा,बाआमा नेपालमा। कोभिड महामारी बीच नेपाली समाजमा चिन्ताको महामारी पनि फैलियो। चिन्ताको त्यो महामारीलाई ‘घर आउ’मा जिवन्त बनाएर उतारेका छन् कलाकारहरुले।‘घर आउ’ फिल्म टोली अहिले दंग छ। किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा ‘घर आउ’ चयन भएको छ।

अमेरिका पढ्न गएका सौरमराजको पढाई रोकिन्छ,लकडाउनमा कैद हुन्छन्। यता आमा व्यग्र हुन्छिन्। अहिले पढाई छैन,त्यसैले खुरुक्क घर आउनु भनेर आमाले कडा आदेश दिन्छिन्। आमाको आदेश जति कडा हुन्छ,माया उति धेरै हुन्छ। यो भावलाई सफलतासाथ उतार्नु निर्देशक किर्तना बान्सकोटाको असामान्य सफलता हो। बान्सकोटा फिल्मस्ले अमेरिकामा आधारित रहेर यो छोटो फिल्म बनाएको हो। बान्सकोटा फिल्म अमेरिकामा पनि सक्रिय छ भने नेपाली चलचित्रको नायकका रुपमा परिचय बनाइसकेका सौरमराज पनि अमेरिकामा सिनेकर्ममै व्यस्त छन् र, मादेवीको भने अभिनय र सिनेकर्मसँग विगतमा खासै सम्बन्ध थिएन ।

अनुभवहीन उमादेवीलाई बान्सकोटा फिल्मस्ले आमाको भूमिकामा प्रस्तुत गरेको छ। तर,उनले खारिएको र जिवन्त अभिनय गरेकी छिन्। सार्थक फिल्म निर्माणमा रुची राख्ने किर्तनाको यो पहिलो फिल्म होइन।

‘स्नेही काख’ वृत्तचित्र बनाएर फिल्म निर्देशनमा किर्तनाले आफूलाई अब्बल सावित गरिसकेकी छिन् । ‘घर आउ’ले उनको निर्देशकीय क्षमता, गहिरो दृष्टिकोण र कलात्मक शैलीलाई अझ प्रखर रुपमा उजागर गरेको छ। अमेरिकामा बसेर फिल्म बनाउनु सजिलो छैन।झन्,सर्ट मुभि अर्थात् छोटो फिल्म बनाउन अत्यन्त चुनौतीपूर्ण हुन्छ।‘घर आउ’ को यति वयान गरिसकेपछि चित्त नबुझ्ने एउटा कुरा छ।

यो फिल्म सर्वसाधारणले सजिलै हेर्न पाउँदैनन्। फिल्म फेस्टिभलहरुमा मात्र हेर्न पाउँछन्।अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा ‘घर आउ’ ले अडियन्स च्वाइस अवार्ड हात पारिसकेको छ। ‘घर आउ’ भ्यान्कुभर इण्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनौट भएको छ।

त्यसैगरी न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल, टोकियो लिफ्ट अफ फिल्म फेस्टिभलमा पनि छनौट भएको छ। त्यसैगरी टर्कीमा हुने फिल्म फेस्टिभलमा पनि छनौट भइसकेको छ। आगामी दिनमा ‘घर आउ’ टोली फिल्म फेस्टिभलहरुमा प्रदर्शनमा व्यस्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर