काठमाडौँ । इलामका व्यवसायी युवा प्रेमप्रसाद आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा गरेको आत्मदाहपछि कलाकारहरुले पनि आ आफ्ना विचारहरु व्यक्त गरिरहेका छन् । यसैबिच अभिनेता रमेश उप्रेतीले पनि आफ्नो धारणा राख्दै प्रेमलाई श्रद्धान्जली दिएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् तिमि मरेर गए पनी हामी आम नेपालीको बीचमा अमर रहनेछौ । आफ्ना विचारहरु सामाजिक संजालमार्फत अभिव्यत गर्दै आइरहेका अभिनेता उप्रेतीले मानवता हराएको देश नेपाल, न्याय मरेको देश नेपाल, भ्रष्टाचार र भ्रष्टाचारीले भरीएको देश नेपाल भन्दै आक्रोश पोखेका छन् ।
यसैबिच प्रेमप्रसाद आचार्यबारे छानबिन गर्न सरकारले समिति बनाएको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेर तत्कालै अनुसन्धान थाल्ने तयारी गरिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय गरेको बताएका छन् ।