नवलपरसीमा एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी — OSNepal

नवलपरसीमा एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी

LC (KTM) January 24, 2023 0

मध्यबिन्दु-नवलपरसी (बर्दघाट सुस्तापूर्व) बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् ।

जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी रु सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडाँै निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताउनुभयो ।

पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताउनुभयो । “पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन”, सारुले भन्नुभयो, “कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानैपर्ने हिन्दू परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।”

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । जिल्लाको पहाडी क्षेत्रका जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताउनुभयो । “नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ”, सारुले भन्नुभयो, “जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँ पठाउने क्रम हिजो आज पनि जारी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर