काठमाडौं, ३ माघ – जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।
नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।
तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि उनी तत्काल रिहा नहुने भएका हुन् ।