बेइजिङ-कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ ।
कोभिडका कारण करिब छ महिना सञ्चालन गरेर बन्द गरिएको नयाँ बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा पुरानै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको थियो । आज बिहान नयाँ विमानस्थलबाट सिजेड् ३०९ कल साइन भएको विमान एक सयभन्दा बढी यात्री बोकेर हङकङका निम्ति उडेको छ । तीन वर्षसम्म हङकङ फर्कन नपाएका एक यात्री पनि उक्त उडानमा छन् ।
आजदेखि चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, क्यापिटल एयरलाइन्स, हिमालय एयरलाइन्सलगायतका धेरै वायुसेवा कम्पनीले ड्याक्सिङ विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा पुनःप्रारम्भ गरेका छन् । उक्त विमानस्थलले पर्यटन र व्यापारीक गतिविधिलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय उडान ट्रान्जिट सेवा र बेइजिङ–टियानजिन–हेबेई क्षेत्रमा एक सय ४४ ट्रान्जिट भिसामुक्त नीति पुनः कार्यान्वयन गरेको छ ।
यसैबीच चीनले कोभिड प्रतिकार्यका निम्ति आर्थिक अभाव हुन नदिने गरी आवश्यक व्यवस्था गरेको छ । कोरोनाको नयाँ चरणमा स्वास्थ्यको हेरचाह र गम्भीर प्रकृतिका बिरामीलाई सघाउन कोषको सुनिश्चिता गरिएको जनाएको छ । अर्थ मन्त्रालयले उपचार अनुदान, स्वास्थ्यकर्मीको अस्थायी भत्ता, खोप र चिकित्सा क्षमता अभिवृद्धिमा रकम निकासा हुने बताएको छ ।
काउन्टीस्तरका अस्पतालमा कोभिडका कारण गम्भीररूपमा बिरामी परेकाको उपचार, ग्रामीण क्षेत्रमा आपत्कालीन उपचारमा विनियोजित रकम खर्च गरिनेछ । मन्त्रालयका अनुसार सम्बन्धित जनस्वास्थ्य परियोजनाका लागि रकम जुटाउन ऋणपत्र जारी गर्न स्थानीय सरकारलाई सहयोग गरिनेछ ।