सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनाले पाए जग्गाधनी पुर्जा — OSNepal

सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनाले पाए जग्गाधनी पुर्जा

LC (KTM) July 06, 2021 0

सिन्धुली, २२ असार – सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश भएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका सूचना अधिकारी विष्णु बडालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयलाई १४६ वटा जग्गाधनी पुर्जा वितरणको आदेश आएको थियो हामीले आर्थिक वर्ष २०७७÷७८ को लक्ष्यअनुसार हामीले पुर्जा वितरण गरिसकेका छौँ ।”

“नाप नक्सा भएका २५० गाउँब्लकको तीन हजार ३८२ कित्ता सङ्ख्याको जग्गाधनी पुर्जा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । यस आवमा नापी कार्यालयले १२४ वटा स्रेस्ता हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।दुई हजार ५०३ कित्ता सङ्ख्या दर्ता भइसकेको र अब ८७९ कित्ता दर्ता हुन बाँकी रहेको छ । कार्यालयले यस आवको शुरुदेखि हालसम्म गोलन्जोर गाउँपालिकाको खुर्कोटमा १३, भुवनेश्वरीमा छ, सुनकोशी गाउँपालिकाको मझुवामा २२, तीनपाटन गाउँपालिकाको रानीचुरीमा आठ, बेलघारीमा २५, भीमस्थानमा ६७ र बाहुनतिल्पुङमा चार जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको सूचना अधिकारी बडालले जानकारी दिनुभयो ।

साथै कार्यालयले मरिण गाउँपालिकाको कल्पवृक्षमा आठ, दुधौली नगरपालिकाको निपानेमा १५ र घ्याङलेख गाउँपालिकाको बस्तीपुरमा आठ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको उहाँको भनाइ छ । साविक भीमस्थान, बेलघारी, भीमेश्वर, भुवनेश्वरी, मझुवा, बस्तीपुर, कल्पवृक्ष, निपानेलगायतका गाउँ विकास समितिमा रहेका २० वटा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरिएको उहाँको भनाइ छ ।रानीवास, क्यानेश्वर, तीनपाटनलगायत अन्य स्थानमा दर्ता बाँकी रहेकाले आगामी आवमा दर्ता गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । यस आवमा वितरण गरिएका जग्गाधनी पुर्जाको स्रेस्ता आगामी आवमा मालपोत कार्यालयलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर