घोराहीका सुमनले गर्छन व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख आम्दानी — OSNepal

घोराहीका सुमनले गर्छन व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख आम्दानी

LC (KTM) July 05, 2021 0

देउखुरी, २१ असार – व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हँुदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गर्नुभएको हो । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन् ।

उहाँले ५० वटा अट्ने एउटा खोर बनाउनुभएको छ । खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापा भन्नुहुन्छ । “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।”

दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उहाँको भनाइ छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ ।घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आफ्नी आमाले दुई पाठी दिनुभएको थियो । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् । तीन वर्षदेखि बाख्रापालन गर्दै आउनुभएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उहाँ धेरै खुशी हुनुभएको छ ।

श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उहाँँको योजना छ । “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ । काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भन्नुभयो । राम्रो व्यवस्थित एउटा खोर बनाउनुभएकी पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर