लिबिया – लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
उहाँले सन् २०२३ मा निर्वाचन गर्नका लागि सरकार र यहाँको राष्ट्रिय निर्वाचन आयोगले आवश्यक तयारी गरेको जानकारी दिनुभएको हो ।यसअघि सन् २०२१ मा पनि त्यहाँ आमनिर्वाचनको तयारी गरिएको थियो । तर त्यहाँका राजनीतिक दलहरुका बीचमा अन्तिममा आएर विवाद बढेपछि आम निर्वाचन रोकिएको थियो ।
प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले यस वर्ष लिबियाका लागि निर्वाचन वर्ष हुनेछ भन्दै यसका लागि देशका सबै क्षेत्र र वर्गका नागरिक तथा विभिन्न राजनीतिक दल र सबै सङ्घसंस्थाहरुले सहयोग गर्ने बचन दिएका पनि उहाँले बताउनुभयो ।साथै प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियाका हत्या हिंसाको राजनीतिको अन्त्य गरेर विद्रोही समूहहरुलाई पनि शान्ति वार्ताको माध्यमबाट देशको विकासमा सहभागी गराउने उहाँले बताउनुभयो ।
सन् २०११ मा यहाँका नागरिकले गरेको आन्दोलनबाट माउमर गद्दाफिको सत्ता सत्याएपछि लिबियाले प्रजातान्त्रिक शासनका लागि संघर्ष गरिरहेको छ ।तर यहाँ विभिन्न विद्रोही समूहका कारण शान्ति स्थापना गरी देशमा प्रजातान्त्रिक सरकारको स्थापना गर्न सकिरहेको छैन । यहाँ संयुक्त राष्ट्रसङ्घीय सहयोग जारी रहेको छ ।
यसअघि सन् २०२१ मा पनि संयुक्त राष्ट्रसङ्घको प्रयासमा निर्वाचन गर्ने भनिएको भए पनि अन्तिममा सम्भव हुन नसकेको बताइएको थियो । यहाँ सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय एकताको सरकार निर्माणको प्रयास निकै पहिलेदेखि जारी रहेको बताइएको छ ।