काठमाडौं । २०६० सालमा बजारमा आएको संगीतकार तथा गायक सुदीप गिरीको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति उनले आपत्ति जनाएका छन् ।दुई दशकअघिको हिट गीत पुनः रेकर्ड गरेर रिबेल क्रिएसन म्युजिक कम्पनीले फेरी बजारमा ल्याएको भन्दै गायक गिरीले कानुनी उपचार खोज्ने बताएका छन् । गायक सुदीप गिरीले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेृका छन् ‘सबैले मन पराउनुभएको ‘‘टुट्नु थियो टुट्यो मुटु’’ बोलको गीत आज मलाई थाहै नदिई यो कम्पनीले पुनः रेकर्ड गरेर भिडियो समेत सार्वजनिक गरेकोमा मेरो घोर आपत्ति छ ।’
उनी अगाडी लेख्छन् ‘मेरो बौद्धिक सम्पत्तिको मालिक म स्वयं भएको र आजसम्म मेरो बौद्धिक सम्पत्तिको कपिराइट कुनै पनि कम्पनीलाई नबेचेको कुरा सार्र्वजनिक गर्दछु,’ उनी अगाडि लेख्छन्, ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरी आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मनदेखि नै घोर भर्त्सना गर्दछु र नेपालको कानुनअनुसार यसको समाधान पनि खोज्ने छु ।’