वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मलेसिया पहिलो गन्तव्य बन्दै — OSNepal

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मलेसिया पहिलो गन्तव्य बन्दै

LC (KTM) December 31, 2022 0

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।

मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् । गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।

विगतमा पनि हावापानीका कारण मध्यपूर्वका मुलुकभन्दा मलेसिया रोजाइमा थियो । मध्यपूर्वका मुलुकमा उच्च गर्मी हुने तर मलेसियाको हावापानी काठमाडौं उपत्यकाको जस्तै भएकाले धेरैको रोजाइमा मलेसिया पर्ने गरेको थियो । तर, यो वर्ष मलेसियामा नेपालीको ओइरो लाग्ने कारण भने भिन्दै छ । मलेसियाले एकै वर्षमा लगभग २५ प्रतिशत तलब बढाएको छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

विगतमा न्यूनतम तलब १२ सय रिंगेट रहेकामा त्यसलाई बढाएर १५ सय पुर्याइएको हो । यो वृद्धिपछि त्यहाँ काम गर्ने नेपालीको तलब ९ हजार रुपैयाँभन्दा बढीले बढेको छ । अहिले मलेसियामा कार्यरत नेपालीको न्यून्तम पारिश्रमिक मासिक ४५ हजारभन्दा बढी पुगेको छ । मलेसियामा साधारणतयाः दैनिक २ घन्टा अतिरिक्त काम पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर