नेपाल नम्बर एक शुक्रलाई कोर्स रेकर्ड सहित सुर्य नेपाल इस्टर्न ओपनको उपाधि — OSNepal

नेपाल नम्बर एक शुक्रलाई कोर्स रेकर्ड सहित सुर्य नेपाल इस्टर्न ओपनको उपाधि

LC (KTM) December 30, 2022 0

धरान : सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९-अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले।

पार-७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७-अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७-अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउदै उपाधि माथि कब्जा जमाए। उनले नगद १ लाख ४० हजार प्राप्त गरे। तेस्रो दिन ३-अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९-अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २-अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५-अन्डर २ सय ५ सहित तेस्रो स्थानमा‌ चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे।

इभन-पार ७० को स्कोरमा समग्रमा ४-अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १-अन्डरमा खेल सकाउदै कुल १-ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २-ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे। आठौ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन-पार ७० खेल्दै समग्रमा ३-ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे। स्थानीय गल्फर बलभद्र राईले कुल ५-ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे। यसैगरी ७-ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए। उनले अन्तिम दिन ४-ओभर ७४ मा खेल‌ सकाए।

एमेच्योरतर्फ २-ओभर ७२ मा अन्तिम दिनको खेल‌ सकाएका राजकुमार राई समग्रमा इभन-पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १-अन्डर ६९ सहित ३-ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १०-ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए।

उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो। अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन ४-अन्डर ३० मा सकाए। उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए। १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे।

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैटौ र नवौ होलमा एक एक सट बचाउदै फ्रन्ट नाइन ३-अन्डर ३३‌ मा पुरा गरे। यसपछि १५औं र १८औं होलमा बोगीको सामना गरे भने ११औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।

भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि १०औं र १२औं होलमा बोगी प्रहार गरे भने १५औं र १६ औं होलमा एक एक सट बचाएर ब्याक नाइन इभन-पार ३४ मा सकाए।

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो। प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।‌ प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो-एम खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर