काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको बताइएको छ ।
उनलाई महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा सदस्य बनाइएको हो ।
उनलाई सदस्य बनाएसँगै कतै विरोध पनि सुरु गरिएको छ । एक दशकदेखि फिल्म करिअरमा व्यस्त पूजाले फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।
यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । पछिल्लो समय प्रमी युद्ध बानियसँग प्रेममा रहेकी उनले खुलेर युद्धको तारिफ समेत गर्न थालेकी छन् ।