आलु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्यो — OSNepal

आलु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्यो

LC (KTM) July 04, 2021 0

हेटौँडा । मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो ।

गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्पादकत्वमा ह्रास आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलुमा फल लाग्न सुरु भएकै समयमा दुई पटक परेको असिना पानीले कतिपय स्थानमा बोट नै सखाप हुनेगरी चुट्यो, अपेक्षाअनुसार आलु उत्पादन वृद्धि भएन । ”यो खबर गोरखापत्र दैनिकमा छ ।

गत वर्ष यही समयमा थाहा नगरमा नौ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष नौ हजार एक सय टन आलु उत्पादन भएको छ । गत वर्षको भन्दा यो वर्ष कृषकले सुरुमा नै आलुमा राम्रो मूल्य पाएकाले आलु बिक्रीबाट किसानले गत वर्षको अनुपातमा बढी पैसा हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर